बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

डिपीएल प्रतियोगिताका लागि मैदान निर्माणको काम शुरु

२७ मंसिर, कैलाली । आगामी माघमा हुने धनगढी प्रिमियर लिग (डिपीएल) टी-ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि मैदान निर्माणको काम शुरु भएको छ ।

माघ १९ गतेदेखि फागुन ४ गतेसम्म हुने प्रतियोगिताका लागि फाप्ला मैदानमा अहिले पिच निर्माणलगायतका काम भइरहेका छन् । आइसीसीको अवधारणा अनुसार नै पिच र मैदान निर्माणको काम शुरु भएको हो ।

यस वर्षको डिपीएल क्रिकेट प्रतियोगिता धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गर्ने तयारी भएको छ । यसअघिका २ संस्करण धनगढीस्थित प्रहरी मैदानमा सम्पन्न भएका थिए । पिच निर्माणका लागि टियु क्रिकेट मैदानका क्युरेटर विशन मण्डलसहित भारतका अनुभवी क्युरेटरहरु खटिएका छन् ।

प्रतियोगिता हुनुभन्दा १०-१५ दिन अगाडि नै मैदान तयार गर्ने गरी काम भइरहेको छ । पिच निर्माणमा स्थानीय जाली सामुदायिक वनमा रहेको माटो उपयुक्त रहेकाले प्रयोग गरिएको छ । विगतमा भएका खेलमा २ पिच मात्र बनाएको भए पनि अहिले भने १०-१० फिटको दूरीमा ५ पिच बन्ने भएका छन् ।

आइसीसीको मापदण्डअनुसार नै पिच र मैदान बनाइरहेको बताउँदै भारतीय क्युरेटर शेखले मैदानको परिधी ६५ यार्डको रहने बताएका छन् । रंगशाला निर्माणको जम्मा लागत ५ करोड रहने आयोजकको दावी छ ।

धनगढीमा क्रिकेटको क्रेज बढ्दै गएकाले छिट्टै अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने उद्देश्य रहेको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE