बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

अमेरिकी सेनाले गरेको कारवाहीमा सोमालियाका ६२ लडाकूको मृत्यु

३ पुस, काठमाडौं । अमेरिकी सेनाले सोमालियामा गरेको कारबाहीमा कम्तिमा ६२ जना लडाकूको मृत्यु भएको छ ।

राजधानी मोगादिसुदेखि दक्षिणपश्चिमी क्षेत्रमा भएको आक्रमणमा अल-शबाबका लडाकुको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ ।

अमेरिकी सेनाले शनिबार गरेको ४ वटा हवाई हमलामा ३२ जना र आइतबार गरिएका २ वटा हवाई हमलामा २८ जना लडाकूको मृत्यु भएको जनाएको छ ।

अमेरिकी सेनाले हमलामा सर्वसाधारण भने कोही पनि नपरेको दाबी गरेको छ । अमेरिकाले सन् २०१७ को नोभेम्बरदेखि सोमालियाका लडाकूविरुद्ध कारबाही चलाउँदै आएको छ ।

अहिलेसम्म कम्तिमा १ सय जना लडाकू मारिएको अमेरिकी सेनाले जनाएको छ । तर, ब्यूरो अफ इन्भेस्टिकेसन जर्नालिजमको तथ्यांक अनुसार सन् २०१७ को शुरुदेखि हुन थालेको हमलामा कम्तिमा ४ सय मानिस मारिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा अमेरिकी सेनालाई सोमालियाका चरमपन्थीविरुद्ध आक्रमण गर्न आदेश दिएका थिए । सन् १९९३ मा मोगादिसुमा चरमपन्थीसँगको भिडन्तमा १८ जना अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिका र सोमालियाबीच संयुक्त सैन्य कारबाही शुरु भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE