बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

बलात्कारपछि हत्या गर्नेलाई पहिलो पटक आजीवन जन्म कैदको फैसला

५ पुस, काठमाडौं । १० वर्षिय बालिका श्रेया सुनारको बलात्कारपछि हत्यामा दोषी ठहर भएका कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले जन्म कैदको फैसला सुनाएको छ ।

मुलुकी संहिता २०७५ मा बलात्कारपछि हत्यामा दोषीलाई जिवित रहेसम्म कैद गर्ने व्यवस्था भएपछि अदालतले गरेको यो पहिलो फैसला हो । न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजलासले बुधबार स्याङ्जा स्थायी घर भई पोखरा-२२ पुम्दीभुम्दी बस्दै आएका २७ वर्षिय पौडेललाई जीवित रहेसम्म थुनामा राख्न आदेश दिएको कास्की जिल्ला अदालतका श्रेस्तेदार जगन्नाथ पौडेलले जानकारी दिए ।

अदालतले कुसुमलाई मंसिर १७ गते दोषी ठहर गरेको थियो । मुलुकी अपराधसंहिता २०७४ को दफा ४१ मा ६ किसिमका कसूरमा कसुरदार जीवित रहेसम्म कैद सजाय गर्ने व्यवस्था गरिएको छ । जसमा बलात्कारपछि हत्याको कसूर पनि उल्लेख छ ।

हान्यायाधिवक्ताको कार्यालयका अनुसार नयाँ मुलुकी संहिता लागू भएपछि आजीवन कैदको माग गर्दै अरु पनि केही मुद्दा दर्ता भएका छन् । तर, अदालतबाटै आदेश आएको यो पहिलो भएको प्रवक्ता संजीवराज रेग्मीले बताए ।

बालिका श्रेयाको असोज ९ गते हत्या भएको थियो । घटनाको २४ घण्टा नबित्दै पौडेल पक्राउ परेका थिए । बलात्कार प्रयास गर्दा बालिकाले प्रतिकार गरेपछि घाँटी थिचेर हत्या गरेको उनले स्वीकार गरेका थिए । रक्सीमा मात्तिएर श्रेयामाथि बलात्कार गर्न खाजेको र नमानेपछि हत्या गरेको पौडेलले स्वीकारेका थिए ।

पैसाको लोभ देखाएर बाटोभन्दा केही पर लगेर बलात्कार गर्न खोजेको, श्रेयाले प्रतिकार गरेपछि घाँटी थिचेको र बेहोस भएको थाहा भएपछि ढुंगाले टाउकोमा हानेर हत्या गरेको कुसुमले अदालतमा बयान दिएका थिए । श्रेयालाई हत्या गरेको कसैले थाहा नपाओस् भनेर शवलाई झाडीमा फालेर हिँडेको उनको बयान छ । रक्सीको जोसमा आफूले होस गुमाउँदा यस्तो घटना घटेको पौडेलले बयान दिएका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE