बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

ओम गुरुकुल अस्पतालमा सुत्केरीको मृत्युपछि प्रदर्शन, कर्मचारी पदाधिकारी सम्पर्कविहीन

६ पुस, लहान । आज बिहानैदेखि चिकित्सको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयले ओम गुरुकुल हेल्थ केयर प्रा.लि अगाडि प्रदर्शन गरिरहेका छन् ।

स्थानीय हेल्थ केयर प्रालिमा कार्यरत चिकित्सकको लापरवाही र त्रुटीपूर्ण शल्यक्रियाका कारण मिर्चैया नगरपालिका-११ की २१ वर्षिय सञ्जु पासवानको मृत्यु भएको भन्दै चिकित्सकमाथि कारवाहीको मागसहित प्रदर्शन हुँदैछ ।

व्यथाले च्यापेपछि बुधबार साँझ लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भर्ना गरिएकी सञ्जुलाई त्यहाँबाट चिकित्सकले विराटनगर वा धरान लैजान सल्लाह दिएकाले परिवारजनले बाहिर लैजान तयारी गरेका थिए । तर एक एम्बुलेन्स चालक ओम गुरुकुल हेल्थ केयर प्रालिमा लैजान सल्लाह दिए र उनैले आफ्नै एम्बुलेन्समा सञ्जुलाई त्यहाँ ल्याएको मृतकका आफन्तले बताएका छन् ।

अस्पतालमा भर्ना भएको केही समयपछि त्यहाँका चिकित्सकले सञ्जुलाई शल्यक्रिया गर्नुपर्ने जानकारी दिँदै शल्यक्रियापछि बच्चा निकाल्न सफल भएका थिए । बच्चा जन्मेको केहीबेरपछि सञ्जुको स्वास्थ्य बिग्रिन थालेपछि चिकित्सकले रगत चढाउन शुरु गरे पनि विस्तारै-विस्तारै सञ्जुको अवस्था झनझन् नाजुक बन्दै गएको थियो ।

चकित्सकको सल्लाहमा उनलाई अक्सिजन लगाएर थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्याउन लाग्दा बाटोमै उनको मृत्यु भइसकेको आफन्तले बताए ।

मृतकका आफन्तले प्रदर्शन गर्न थालेपछि प्रहरी परिचालन गरिएको र त्यहाँका सञ्चालकका साथै सम्पूर्ण कर्मचारी सम्पर्कविहीन भएको लहान इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE