बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

बस दुर्घटनामा परी २२ शिक्षक-विद्यार्थीको मृत्यु, ११ को अवस्था चिन्ताजनक

७ पुस,काठमाडौँ । शुक्रबार विद्यार्थी र शिक्षक सवार बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढिरहेको छ । शनिबार रातिसम्म २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाङ प्रहरीका अनुसार अन्य १५ जना घाइते भएका छन् । जसमा ११ जनाको अवस्था चिन्ताजनक छ । मृतकमध्ये पाँच जनाको मात्र सनाखत भएको छ । जसमा बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का मदन केसी, घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ वर्षीय प्रदीप घिमिरे, पूर्वी रुकुमको भूमे गाउँपालिकाका २८ वर्षीय नरेश वली, दाङको दंगीशरण गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय सञ्जित रत्गैया र घोराही उपमहानगरपालिका वडा नम्बर १४ का २७ वर्षीय विजय जिएमको सनाखत भएको हो । उनीहरुको शव परिवारका सदस्यहरुले पहिचान गरेका हुन् ।

घोराही उपमहानगरपालिका वडानम्बर १७ मा अवस्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थीहरु शैक्षिक भ्रमणका लागि सल्यानको कपुरकोटस्थित वनस्पति उद्यानमा गएका थिए । त्यहाँबाट फर्किने क्रममा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका–३ राम्रीको भीरमा ७ सय मिटर तल खसेर दुर्घटना भएको थियो । बसमा ३४ जना विद्यार्थी, दुईजना शिक्षक र एक चालक गरी ३७ जना सवार थिए ।

दुर्घटनामा परी घाइतेहरुको टाउका र मेरुदण्डमा गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । घाइतेको अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको प्रहरीले बताएको छ ।
शवहरु अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ । शव पोष्टमार्टम गर्दै आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE