बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

परम्परागत पहिरन बनाउन सिक्दै थारू महिला

राजेन्द्रप्रसाद पनेरु ११ पौष,कंचनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारू समुदायका महिला हराउँदै गएका परम्परागत पहिरन बनाउने सीप सिक्न थालेका छन्।

थारू समुदायका महिलाले लगाउने लेहङ्गा र चोलीलगायतका विभिन्न प्रकारका पहिरन बनाउने सीप सिकाउन थालिएको छ। विशेष गरी धार्मिक अनुष्ठान र सांस्कृतिक समारोहमा लगाउन प्रयोग हुने परम्पारगत पहिरन बनाउने कार्यमा महिलालाई निपुण बनाउन यस्तो सीप सिकाउन थालिएको हो। परम्परागत पहिरन हराउन थालेपछि थारू समुदायको बाहुल्यता रहेको गाउँका महिलालाई वडा कार्यालयले रु ६० हजार बजेट विनियोजन गरी सीप सिकाउन शुरु गरेको छ। यसले परम्परागत पहिरनको संरक्षण तथा आयआर्जनतर्फ उत्प्रेरित गर्न सहयोग पुग्ने बताइएको छ।

पहिलो वर्ष ज्येष्ठ महिलाबाट केही महिलालाई सीप सिकाएको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए। उनले भने, ‘दोस्रो वर्ष सीप सिकेका महिलाले नयाँ पिँढीका युवतीलाई लेहङ्गा र चोली बनाउने सीप सिकाउन थालेका छन्।’

थारू समुदायको मौलिक परम्परागत पहिरन जोगाउन यस कार्यले टेवा पुग्ने उनको भनाइ छ। तालिममा सहभागी महिलाले गोठ तयार गर्ने, जिभा बनाउने र चिरकुट राख्नेलगायत कार्य सिक्न थालेका छन्। प्रशिक्षणपछि व्यावसायिक रुपमा यो पेशा अपनाउन समेत सहयोग पुग्ने विश्वास गरिएको छ। वडा कार्यालयले सीप सिक्न प्रशिक्षक, कपडा, सियो, मेशिनलगायतको व्यवस्था गरेपछि युवती उत्सुकतासाथ कक्षामा सहभागी हुन थालेका छन्। सैद्धान्तिकभन्दा लेहङ्गा चोली बनाउन प्रयोगात्मक शिक्षामा बढी जोड दिइन थालेको छ।

पहिरन बनाउन कपडाको चयन गर्ने, बुट्टा भर्ने, सितारा जडान गर्ने, हातैले सियोको मद्दतले सिउने, नापअनुसारको पहिरन तयार गर्ने कार्य सिक्न थालेको तालिममा सहभागी पशुपति चौधरीले बताइन्। ‘परम्परात पहिरन हातैले बनाउनुपर्ने भएकाले समय बढी लागे पनि थारू समुदायलाई चिनाउने पहिलो पहिचानका रुपमा यस्ता पहिरन रहेकाले यसको जर्गेना गर्न सीप सिक्न थालेका छौँ’, उनले भनिन्।

ज्येष्ठ महिलाले पालैपालो युवा पुस्ताका युवतीलाई सीप हस्तान्तरण गर्न चासो देखाएपछि युवती समेत सीप सिक्नमा उत्सुक देखिएका छन्। गाउँका ४० महिला उक्त तालीममा सहभागी छन्।

परम्परागत पहिरन तयार गर्न विभिन्न कपडाको मिश्रणसँगै कलात्मकरुपमा सजाउनुपर्ने भएकाले बढी खर्च आउने गरेको पहिरन बनाउने सीप सिक्दै आएको माया डगौराले बताइन्। ‘साधारण पहिरनभन्दा परम्परागत पहिरन महँगो हुने भएकाले पनि यसप्रतिको आर्कषण घटेको हो’, उनले भनन्, ‘थारू महिलाको पहिचाननै पहिरनमा रहेकाले जगर्नेना गर्नु सबैको कर्तव्य हो।’

थारू समुदायका महत्वपूर्ण चाड पर्व माघी, दशैँ, अटवारीलगायतका पर्वमा नाचिने नृत्य प्रस्तुत गर्न महिलाले परम्परागत परिहन लगाउँदै आएका छन्। विवाह र अन्य सांस्कृतिक समारोहमासमेत परम्परागत पहिरन लगाउनुको आफ्नै महत्व छ। नेपालखबरबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE