बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

थारु समुदायमा माघी पर्व शुरु

३० पौष,धनगढी। थारु समुदायले धुमधामका साथ मनाउने माघी पर्व आज (सोमबार) बाट शुरु भएको छ । यो थारु समुदायको प्रमुख पर्व हो । पुसको अन्तिम् दिनबाट शुरु हुने गर्दछ ।

ठाउँ–ठाउँमा माघी महोत्सव पनि आयोजना गरिएका छन् । माघी पर्वको रौनकले थारु बस्ती उल्लासमय बनेका छन् । काम विशेष वा रोजगारीको शिलशिलामा घरभन्दा टाढा देश विदेश गएका व्यक्ति माघी मनाउनका लागि गाउँघर फिरेका छन् । माघी पर्वलाई थारु समुदायले आर्थिक वर्ष र नयाँ वर्षको रुपमा समेत मनाउने चलन रहेको छ । थारु समुदायले माघीलाई विशेष गरेर ‘माघ’ भन्ने गर्दछन् ।

माघी पर्वको पहिलो दिन सुङ्गुरको मासु लगायतका मिठो मसिनो खाँदै रमाइलो गर्ने चलन छ । पहिलो दिनलाई थारु भाषामा ‘जिता मर्ना’ भनिन्छ । यो दिन हरेक परिवारमा सुङ्गुरको मासुसहित मिठो पाकवान पाकेको हुन्छ ।

पर्वको पहिलो दिन खानपिन र राहरंगीत गर्ने दिन रहेको थारु नागरिक समाज कैलालीका अध्यक्ष दिलबहादुर चौधरी बताउँछन् । ‘यो दिन जिता मारेर हरेक घरमा मासु परिकार खाने खानपानको दिन हो’, उनले भने ।

पहिलो दिनको साँझ घरपरिवार, इष्टमित्र, आफन्त, गाउँवासी मिलेर मिठो–मिठो खाने मघौटा नाच नाच्ने चलन छ । यसैगरी, अगेनामा आगो ताप्दै ‘डफ’ बजाएर रातभरि धमार गीत गाउने पनि गरिन्छ । धमार गीत थारु समुदायको मौलिकता झल्काउने लोकगीत हो ।

माघ १ गते अर्थात माघीको दिन उज्यालो नहुँदै विहानै प्रसिद्ध तीर्थस्थल, नदी, दह, पोखरीमा नुहाउने गरिन्छ । वर्षभरि नुहाउँदै आए पनि माघीमा एक दिन नुहाउनुलाई विशेष मानिन्छ र, अनिवार्य पनि । नुहाउनुभन्दा अगाडि पानीमा वा नदी किनारमा पैसा राख्ने परम्परा रहेको छ ।

माघीमा नुहाउँदा जल किन्नु पर्ने परम्परागत मान्यताका साथ पैसा छोड्ने चलन कायम रहि आएको संयोजक चौधरीको बुझाइ छ । उनी भन्छन्–‘अरु बेला सित्तैमा नुहाउने गर्दछौं । तर, माघीमा पानी किनेरमात्रै नुहाउनुपर्छ भन्ने मान्यता छ ।’

माघी नुहाइसकेपछि समुदायका व्यक्तिले नदी किनारबाटै एक आफसमा शुभकामना आदानप्रदानका साथै, ‘सेवाढोग’ लाग्ने गर्दछन् । नुहाउनेले घरमा एउटा ढकियामा छुट्टै राखिएको चामल, नून, बेसार जस्ता सामग्री छुने परम्परा छ ।

त्यसपछि घरको सबैभन्दा पूर्खालाई सबैभन्दा पहिले ढोग गर्दै आशिष थाप्ने गर्दछन् । पूर्खा, मान्यजन सबैलाई उमेरको वरियता अनुसार सेवाढोग गर्दै माघीको खुशीयाली तथा शुभकामना साटासाट गर्ने गरिन्छ । यसलाई ‘सेवा लग्ना’ भनिन्छ । सेवाढोगको कार्य परिवारहुँदै इष्टमित्र, आफन्त, छरछिमेक, गाउँघरसम्म हुन्छ ।

यो संगै ढिक्री, उसिनेको तरुल जस्ता परिकार खाने र रमाउने चलन रहि आएको छ । माघ १ गते आपसी वैमनस्यतालाई त्यागेर खुशीयाली साटासाट गर्ने गरेकाले यसलाई थारु समुदायमा मेलमिलापको दिनको रुपमा पनि हेरिएको छ ।

परिवार र छरछिमेकमा जस्तोसुकै वैमस्यता रहे पनि त्यसलाई बिर्सेर यो दिन सेवाढोग गर्ने, आशिष लिने र दिने चलन रहेको छ । यो दिन देवी देवतालाई साक्षी राखेर गुनासो, मनमुटावलाई त्याग्ने गरेकाले पारिवारिक सम्बन्धमा सुधार आउने गरेको बताउँछन्, अधिवक्ता जोहारीलाल चौधरी ।

ढोगभेट, सेवा सलाम लाग्दा सम्बन्धमा सुधार हुन्छ’, उनले भने–‘कसै कसैबीच मनमुटाव छ भने हृदयदेखी नै त्यसलाई महसुस गरेर हटाउने गरिन्छ ।’ माघ १ गतेको दिन नराम्रो कुरा, कार्य, वादविवाद गर्न नहुने परम्परागत मान्यता रहि आएको छ ।

माघ २ गते माघी पर्वको विदाई दिन हो । यो दिनलाई पश्चिममा ‘खिच्रहुवा’ पनि भन्ने गरिन्छ । यो दिनबाट घरपरिवार, टोल, गाउँको आर्थिक हरहिसावको कुरादेखि लिएर वार्षिक समीक्षा र योजना बनाउने कार्य हुने गर्दछ । यसलाई ‘खोज्नी बोज्नी’ भनिन्छ ।

यहि दिनबाट एक वर्षको लागि परिवारको घरमूली छान्ने, आर्थिक समृद्धिको लागि वार्षिक योजना बनाउने, भोजविवाह, अङ्शबण्डा लगायतका कार्यको थालनी गर्ने गरिन्छ । यसकासाथै, गाउँ टोलका लागि नेतृत्व गर्ने भलमन्सा (बडघर), अघरिया, चिराकी, गाउँ गुरुवा चयन गरिन्छ । यिनीहरुको कार्यअवधि एक वर्षको रहने गर्दछ । यसैदिन विवाहित छोरी चेलीलाई उपहार दिने चलन पनि छ, जसलाई थारु भाषामा ‘निसराउ’ भनिन्छ ।

माघी पर्वले थारु समुदायको पारिवारिक, सामाजिक, आर्थिक व्यवस्थापकीय महत्व राख्ने गरेको अधिवक्ता चौधरीले बताए । उनले अगाडि थपे–‘यो पर्वमा आर्थिक समृद्धिको वार्षिक योजना बनाइन्छ ।’

अचेल थारु समुदायको माघी पर्व मनाउने तरिकामा थुप्रै परिवर्तन आएपनि यसको धार्मिक, सामाजिक र साँस्कृतिक महत्व भने उत्तिकै रहेको बताइएको छ ।

माघी आपसी सम्बन्ध प्रगाढ बनाउने, साँस्कृतिक रुपमा थारु समुदायको मौलिक खानपान, भेषभूषा दर्शाउने सामुदायिक पहिचानको मुख्य पर्व रहेको थारु बुद्धिजिवी कृष्ण डेमनडौराको ठम्याइ छ । ‘वर्षभरिको योजना बनाउने, आपसी सम्बन्ध स्थापना हुने यो सामाजिक महत्वको पर्व पनि हो’, उनले भने ।

गतविगतमा माघी पर्वकै अवसरमा कमैया, कमलरी, बुक्रहीले वर्षभरीमा एकचोटी रमाइलो गर्नका लागि माघीमै विदा पाउने गर्दथे । त्यसैले यो वर्गले माघीलाई स्वतन्त्रताको पर्वको रुपमा पनि मनाउने चलन रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE