बिहिबार, असार ३, २०७८
Thursday, June 17, 2021

हिंसा कम गर्न महिलाको नाममा लालपुर्जा

५ जेठ,उदयपुर । महिलामाथि हुने घरेलु हिंसा कम गर्न महिलाको नाममा लालपुर्जा वितरण गर्न थालिएको छ। महिलासँग सम्पत्तिको हक नहुँदा घरेलु हिंसा बढ्दै गएको आँकलन गरी महिलाको नाममा लालपुर्जा वितरण गर्न थालिएको हो। हिंसा कम गर्न र सम्पत्तिमा समान हक स्थापित गर्न भूमि अधिकार मञ्चले अभियान सुरु गरेको हो।

‘अहिलेसम्म डेढ सय श्रीमान् श्रीमतीले संयुक्त पुर्जाबनाइसकेका छन्,’ मञ्चका अभियन्ता पूर्णबहादुर सुनुवारले भने, ‘यसले घरेलु हिंसालाई कम गर्दै पारिवारिक सम्पत्तिको सुरक्षा समेत हुन्छ।’ नेपालको संविधानको भाग ३ को धारा ३८ मा सम्पत्ति तथा पारिवारिक मामलामा दम्पत्तिको समान अधिकार कायम हुने उल्लेख छ।

२०७४ मा बनेको संयुक्त पुर्जाकार्यविधि र संयुक्त पुर्जानिर्माण गर्दा १०० रुपैयाँ मात्रै राजस्व तिर्नुपर्ने सरकारी सहुलियत छ। जसको कारण महिलामा जमिनको हक स्थापित गर्न संयुक्त पुर्जाअभियान सशक्त माध्यम हुने अधिकारकर्मी दीलिप बिक बताउँछन। ‘महिलामाथि हुने घरेलु हिंसा, अन्याय र उत्पीडन कम गर्न सजिलो हुन्छ,’ उनले भने, ‘संयुक्त पुर्जा बनाइसकेपछि श्रीमतीसँग सल्लाह नै नगरी श्रीमानको एकलौटी निर्णयले जमिन बिक्री गर्ने काम पनि बन्द हुन्छ।’

संयुक्त पुर्जाबनाएकी त्रियुगा नगरपालिका–१३ की श्रीदेवी चौधरीले संयुक्त निर्णय नभई जमिन बेच्न नमिल्ने भएकाले सल्लाह गर्नैपर्ने बाध्यता हुने बताइन्। तर, मालपोत कार्यालयका कर्मचारीले यस अभियमानमा असहयोग गरेको उनको भनाइ छ। उनले भनिन्, ‘मालपोत कार्यालयका कतिपय कर्मचारीले यसलाई झन्झटिलो प्रक्रिया भन्दै दुःख समेत दिने गर्छन्।’

सम्पत्तिमा दम्पतिको समान अधिकार स्थापित भए घरेलु हिंसा स्वतः घटेर जाने सहयोगी संस्था रेस्फेक फत्तेपुरका संयोजक मदनराज कटुवाल बताउँछन्। आर्थिक सशक्तीकरणका लागि समेत भूमिमा महिलाको स्वामित्व हुन जरुरी रहेकाले अभियानलाई गाउँगाउँमा पुर्‍याउन आवश्यक रहेको अधिकारकर्मी तथा पत्रकार सुमित्रा कोइरालाको भनाइ छ। ‘संविधान प्रदत्त महिलाको अधिकार स्थापित गर्ने अभियानलाई सरकारी स्तरबाटसमेत सहयोगको जरुरी छ,’ उनले भनिन्, ‘भूमिमा महिला र पुरुषको हकअधिकार बराबर बनाउँदा महिला हिंसा कम हुन्छ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE