शुक्रबार, बैशाख २४, २०७८
Friday, May 7, 2021

बोक्सी आरोपमा किशोरी कुटिइन

३० भदौ,धनगढी । धनगढीमा २३ वर्षीय किशोरी माथि बोक्सीको आरोपमा कुटपिट भएको छ । धनगढी उपमहानगरपालिका – १३ कि सिता राना (नाम परिवर्तन) लाई आफ्नै काकी नाता पर्ने फुलमाया रानाले बोक्सी आरोपमा कुटपिट गरेकी हुन ।

रानाले आइतबार किशोरीको घरमै गई विभिन्न लाञ्छना लगाउँदै कुटपिट गरेको पीडितका आफन्तले बताएका छन् । घटना पछि पीडित युवतीले विष सेवन गरेकी थिइन् ।

उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । नाताले आफ्नै काकी पर्ने फुलमाया रानाले बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको किशोरीकी ठुलीआमा पार्वती रानाले बताइन् ।

घटनाको सम्बन्धमा प्रहरीमा जाहेरी दिँदा पनि अहिले सम्म प्रहरीले उनलाई पक्राउ गर्न चासो नदिएको उनका ठुला बुवा हिरा रानाले बताए । किशोरी स्नातक तह तेस्रो वर्षमा अध्ययन गर्दै थिइन् ।

उनको आजै परीक्षा पनि थियो । घटना पछि उनको परीक्षा समेत छुटेको छ । घटना सम्बन्धमा जानकारी पाए लगत्तै प्रहरीलाई खबर गरेको वडा नम्बर – १३ का वडा अध्यक्ष विजयराज जोशीले बताए । पीडित किशोरीका आमा बुवा समेत नरहेको बुझिएको छ ।

अहिले उनको उपचारमा आर्थिक समस्या देखिएको छ । वडा अध्यक्ष जोशीले उनको उपचार खर्चमा सम्पूर्ण सहयोग गरिने बताए ।

घटना सम्बन्धमा सत्य तथ्य बुझी दोषीलाई कानुनको दायरामा ल्याइने उनले बताए । यता प्रहरी कार्यालयमा किटानी जाहेरी नआएको वडा प्रहरी चौकी कैलाली गाउँले जनाएको छ ।

युवतीले विष सेवन गरेको जानकारी आइतबार साँझ ६ बजे मात्रै पाएको कार्यालयका प्रहरी नायव निरीक्षक कर्ण बहादुर चन्दले बताए । उनले दुवै पक्षलाई बोलाएर अनुसन्धान गरिने बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE