मङ्लबार, मंसिर ९, २०७७
Tuesday, November 24, 2020

महिलालाई आत्मनिर्भर बनाउछौं : चौधरी

धनगढी २६ माघ : कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले महिलाहरुलाई विभिन्न सीपमूलक तालिम उपलब्ध गराई आत्मनिर्भर बनाउने बताएका छन् ।

कैलारी गाउँपालिका वडा नं. ५ पवेरामा महिलाहरुका लागि संचालित सीप तथा व्यवसायिकता विकास अन्र्तगत ५ दिने तयारी खाजा तालिमको समापन कार्यक्रमलाई आईतबार सम्बोधन गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका सम्पूर्ण वडाका महिलाहरुलाई विभिन्न किसिमका सीपमूलक तालिम दिई सामाजिक सशक्तिकरणसहित आर्थिक रुपमा आत्मनिर्भर बनाउने बताएका हुन् ।

‘गाउँपालिकाको लक्ष्यनै गरिब, विपन्न, परिवारका महिलालाई विभिन्न सिपमूलक तालिम दिई आत्मनिर्भर बनाउने हो’, अध्यक्ष चौधरीले भने–‘त्यसका लागि गाउँपालिकाले विभिन्न संघसंस्थासंग समन्वय सहकार्य गरि सीप तथा व्यवसायमूलक तालिम सञ्चालन गरिरहेको छ ।’

महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले महिलालाई व्यवसायिक बनाउनका लागि तालिम दिएको बताइन् । तालिम पश्चात सम्पूर्ण सहभागीहरुलाई जनही तीन हजार पाँचसय बराबरको खाजा नास्ता बनाउने सामग्री फ्राइबिन, प्लेट, बाटा लगायत उपलब्ध गराएको समेत उनले जानकारी दिइन् । तालिममा विपन्न, गरिब, दलित समुुदायका २१ जना सहभागी रहेका थिए ।

तालिमका सहभागीहरुलाई जेरी, डुनट, चाउमिन, ललीपप लगायत ३५ आइटम सिकाएको प्रशिक्षक रामसेवक चौधरीले बताए । तालिम पश्चात सहभागीहरुले सिकेका सीप व्यवहारमा लागू गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष बिष्णुप्रसाद चौधरी, वडा सचिव सोनुराम चौधरी लगायतको सहभागिता रहेको थियो । यस अघि तालिमको उद्घाटन गाउँपालिका उपाध्यक्ष लक्ष्मी सत्गौंवाले गरेकी थिइन् । कैलारीअनलाइनबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE