बुधबार, मंसिर १०, २०७७
Wednesday, November 25, 2020

विभेदहरू निन्दनीय र मानवताविरोधी

मार्च महिनालाई जातीय एवं नश्लीय विभेदविरुद्धको महिना मानिएको छ । यो महिनाभरि विभेदविरुद्ध आवाज उठाउन सबै सचेत नागरिक आ–आफ्नो ठाउँबाट लाग्नुपर्छ, जाग्नुपर्छ भन्ने मान्यता छ । शिक्षा, ज्ञान–विज्ञान र सिकाइका जति पनि संरचनाको परिकल्पना मान्छेले गरेको छ वा भविष्यमा गर्नेछ, ती सबैको लक्ष्य मान्छेलाई एक कदम भने पनि असल र अधोचेतनाबाट उध्र्वचेतनातिर लिएर जानु नै हो ।

विभिन्न दिवसको सिर्जना गर्नुको उद्देश्य पनि मानवताभित्रका अन्तरिक असंगतिबारे सोच्न झकझकाउनु नै हो । २१ मार्चलाई संयुक्त राष्ट्रसंघले नश्लीय विभेद अन्त्यको दिवसको रूपमा मान्यता दिएको छ । त्यसपछिको एक साता जातीय विभेदविरुद्ध काम गरिरहेका मानिससँगको ऐक्यबद्धता सप्ताहको रूपमा मनाइन्छ । त्यसअतिरिक्त, मार्च १६ देखि २९ सम्मलाई युरोपियन एक्सन विक अगेन्स्ट रेसिजमको रूपमा पनि युरोपभरि मनाइन्छ । जातीय विभेद र छुवाछुतविरुद्धको पदयात्रा पनि मार्चमै सुरु गरिएको थियो ।

सामाजिक विभेद धेरै प्रकृतिका भए पनि यी विभेदमा एउटा समानता छयी सब मानवताविरोधी छन्, कानुनी रूपमा दण्डनीय छन्, सामाजिक रूपमा निन्दनीय छन् । 

यस सन्दर्भमा नेपालमा छुवाछुत, जातीय विभेदलगायत धेरै सामाजिक विभेदको व्यावहारिक अन्त्य र कानुनको कार्यान्वयन गर्न–गराउन बाँकी नै छ । हाम्रो समाजमा छुवाछुतलगायत सामाजिक विभेद कानुनी रूपमा दण्डित हुने अपराध हुन् भन्ने अझै सबैलाई सचेतनासमेत छैन । त्यसैले अन्यायमा पर्ने पीडित यी विषाक्त सामाजिक अपराधबाट जीवनमा पटक–पटक प्रताडित भइरहन्छन् । सामाजिक विभेद धेरै प्रकृतिका भए पनि यी विभेदमा एउटा समानता छ– यी सब मानवताविरोधी छन्, कानुनी रूपमा दण्डनीय छन्, सामाजिक रूपमा निन्दनीय छन्।

मानिसमा चेतना नहुँदा कानुनको सहारा लिनुपर्ने हुन्छ, तर छुवाछुत र विभेदको अन्त्य केबल कानुनी प्रावधानबाट मात्र सम्भव हुँदैन । विभेद अन्त्यको पहिलो सूत्र भनेकै विभेद छ भनेर स्वीकार गर्न‘ हो । जात, रंग, लिंग, लवज, शारीरिक अपांगतालगायत आधारमा विभेद गर्न‘ भनेको मान्छेको आत्मसम्मानलाई रेटेर वध गर्न‘ हो, जसको पीडा विभेदमा पर्नेले मात्र अनुभूति गर्न सक्छ । आखिर चेतना भएको, सही–गलत छुट्याउंन सक्ने मानवजातिले विभेद किन गर्छ ? विभेदको उत्पादन हुने भट्टी हाम्रा अगाडि नै हुँदा पनि ती भट्टी फुटाउन नसक्नुको कारण के होला ? यी प्रश्नले मलाई सधैँ चपाइरहेको हुछ ।

जातीय अहंता सिकाउने सम्बन्ध, विभेदमा आधारित न्याय व्यवस्थाले निर्माण गरेको सांस्कृतिक पहिचान र त्यसमार्फत सिर्जित लघुताभास, सामाजिक हिंसालाई हल्काफुल्का लिने समाज, विभेदकारी शैक्षिक संरचना र तिनको निर्माण गरेका कथ्यले निर्माण गर्ने विभेद, फरक वर्ण तथा लवज भएकाहरूको अवमूल्यन गर्ने व्यवहार आदि विभेद ‘म्यानुफ्याक्चर’ गर्ने भट्टीहरू हुन् । यी भट्टीमा विभेदका परिकार उत्पादन–पुनरोत्पादन हुने क्रम युगौँदेखि चलिरहेको छ । यी भट्टी यति सबल छन् कि यसले अनपढदेखि संसारका गन्यमान्य विश्वविद्यालयमा शिक्षितलाई आफ्नो वशमा लिएको छ । मानवताशून्य र चैतन्यभ्रष्ट यी भट्टीमा पाकिएका ज्ञानका परिकारले कतै संस्कृतिको नाममा, कतै सभ्यताको नाममा, कतै धर्म र अध्यात्मको नाममा, कतै पहिचानको नाममा विभेद संस्थागत गरिरहेका हुन्छन् ।

मजस्ता अभियन्तालाई निरुत्साहित गर्न पीडकहरू भन्ने गर्छन् ‘धर्मकर्म, लाजसरम, घिन नमानी पण्डित बाहुनको छोरोले अछुतकोमा खाँदै हिँडेर के नाटक गरेका छौ ? तिमीहरूको कामले स्वर्ग गएका पितृ पनि झर्छन् । मलाई ती विभेदकारीको मानवताशून्य र संवेदनाशून्य भएर खंग्रंग भएको अविवेकी चेतना बोकेको हाडछाला र मासुको पिँजडामा थुनिएको कठैबरा आत्मालाई देख्दा टिठ लागेर आउँछ ।

यस्तै जमातले छुवाछुत दलितको मात्र मुद्दा हो भन्छन् । यसखालको बुझाइमा रुमल्लिएको कथ्य र सोही कथ्यको उत्पादन र पुनरुत्पादनमा जुटेको चेतनाले छुवाछुत र जातीय विभेदको अन्त्य गर्दैन । झन् तिनको मलजल गर्छ । सुन्दा अप्ठेरो लागे पनि अहिलेको यथार्थ यही नै हो । छुवाछुतमुक्त र जातीय समतायुक्त देश बनाउन हाम्रो जस्तो बहुभाषिक र बहुसांस्कृतिक देशमा जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व हुने परिपाटीमै जानुपर्छ भन्ने मेरो निष्कर्ष छ । शक्ति, सत्ता र नीति कार्यान्वयन तहमा दलितको समानुपातिक पहुँच नभई विभेदको अन्त्य हुने सम्भावना देखिँदैन ।

समस्या पहिचान गर्ने र तिनको समाधानमा स्रोत–साधन परिचालन नगरिएसम्म न त हाम्रो देश एउटा स्वाभिमानी र पूर्ण राष्ट्र बन्छ, न न्यायपूर्ण समाज नै बन्छ । यो मुद्दा विभेद भोग्नेले मात्र उठाएर अन्त्य हुन सक्दैन । जुन देशमा शिक्षतहरू रमिते भएर छेउमा बसेर हेर्छन्, त्यो देश र समाजमा मानवीय र सामाजिक न्याय महँगो हुन्छ । नेपालमा भने तथाकथित शिक्षितको ठूलो संख्या रमिते भएको मेरो अनुभवले देखाएको छ ।

२०७६ चैत्र १७ गते नयाँ पत्रिकामा प्रकाशित

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE