बुधबार, मंसिर १०, २०७७
Wednesday, November 25, 2020

‘सुदूरपश्चिम उच्च जोखिममा छ,राष्ट्रिय संकट आउन सक्छ’

कैलाली, २३ चैत : कोरोना भाइरस (कोभिड-१९) को चौथो संक्रमित व्यक्ति उपत्यका बाहिर (धनगढी) का थिए । दुबईबाट भारत हुँदै नेपाल आएका ती ३४ वर्षीय युवकमा कोरोना संक्रमण देखिएपछि चैत १४ गते नै सुदूरपश्चिममा खतराको घण्टी बजेको हो ।

त्यो घण्टी त्यसबेला अझ ठूलो आवाजमा गुञ्जन थाल्यो, जतिखेर मुलुकमै पहिलोपटक स्थानीय व्यक्तिमा यसको संक्रमण फैलियो ।

दुबईबाट आएका ती युवककी भाउजूलाई पनि कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य मन्त्रालयले शनिबारदेखि नेपालमा कोरोनाको दोस्रो चरण सुरु भएको जनाएको छ ।

संक्रमित युवककी भाउजूलाई संक्रमण देखिएकै दिन सुदूरपश्चिम प्रदेशमा अन्य दुईजनालाई पनि संक्रमण पुष्टि भएको । योसँगै संक्रमितको संख्या नेपालमा ९ पुगेको छ । ९ मध्ये चारजना सुदूरपश्चिम प्रदेशका छन् ।

शनिबार पुष्टि भएका कैलाली र कञ्चनपुरका दुई युवक सीमा क्षेत्रमा हजारौंको भीड छिचोलेर आएको हुनाले यो मामिला जोखिमपूर्ण देखिएको छ ।

अहिले सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले अनलाइनखबरलाई बताए ।

‘अहिले सातवटा प्रदेशमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश जोखिममा छ । भारतबाट आएकाहरुको यकीन तथ्यांक छैन । उनीहरुमा पनि संक्रमण देखिन सक्छ’ अवस्थी भन्छन्, ‘यहीँबाट स्थानीयमा संक्रमण सुरु भएको छ । यो चिन्ताको विषय हो ।’ अहिले आम नागरिक सचेत नभए अवस्था भयावह हुन सक्ने उनी बताउँछन् ।

प्रस्तुत छ, स्वास्थ्य निर्देशक डा. अवस्थीसँग अनलाइनखबरले गरेको कुराकानी

शनिबार एकैदिन सुदूरपश्चिमका तीनजनामा संक्रमण फैलिएको पुष्टि भयो । योसँगै प्रदेशमा संक्रमितको संख्या चार पुग्यो । अहिले यो प्रदेश कोरोनाको उच्च जोखिममा हो ?

हो । अहिले सातवटा प्रदेशमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश जोखिममा छ । भारतका विभिन्न सहरहरुमा कोरोना प्रवेश भएपछि त्यहाँबाट यस प्रदेशका लाखौँ मान्छे आफ्नो घर फर्किएका छन् । यो एउटा ठूलो जोखिम हो ।

अर्कातिर, एकजना स्थानीयमा संक्रमण देखिएको छ । यो भनेको स्वास्थ्यमा अर्काे चुनौति हो ।

शनिबार संक्रमण पुष्टि भएका दुईजना भारतबाट आएका हुन् । सरकारले नाका बन्द गरिसकेपछि आएका ती व्यक्ति भिडमा रहेको बुझिएको छ । उनीहरुसँग रहेका अन्य व्यक्तिहरु अहिले सरकारको सम्पर्कमा छैनन् । यसले थप जोखिम त बढायो नि, हैन ?

हो । संसार लकडाउनमा थियो । भारत र नेपालमा पनि लकडाउन गरिएको थियो । त्यो अवस्थामा नेपाल छिरेका व्यक्तिमा संक्रमण देखिनु विडम्बना हो ।

कैलालीका संक्रमित गौरीफन्टा नाकामा एक हजार नागरिकसँग रहेको बुझिएको छ । कति घण्टा सँगै बसे र कति व्यक्तिलाई सारे भन्ने कुरा अनुमान लगाउनै कठिन छ । ती युवकसँगै क्वारेन्टाइनमा रहेका ४४ जनाको पनि नमूना संकलन गरेका थियौं ।

त्यस्तै कञ्चनपुरको क्वारेन्टाइनमा रहेका १३ जनाको पनि नमूना संकलन गरेर पठाएका थियौँ । धनगढीमा संक्रमित देखिएका पहिलो व्यक्तिको घरका ९ जनाको नमूना पठाउँदा उनकी भाउजूमासमेत संक्रमण पुष्टि भएको छ ।

कैलाली र कञ्चनपुरको क्वारेन्टाइनमा रहेका बाँकीको रिर्पोट आउन बाँकी छ । ती सबैको रिर्पोट  आएपछि मात्रै कति संक्रमित छन् भन्न सकिन्छ ।

नेपालमा चौथो संक्रमित उपत्यका बाहिरको व्यक्ति भएको पुष्टि भयो । र, ती युवकबाटै स्थानीयमा पनि संक्रमण सर्‍यो । यसले त सुदूरपश्चिम प्रदेशबाटै देशभरि संक्रमण फैलिन्छ कि भन्ने चिन्ता पनि छ । यसको नियन्त्रणका लागि सरकारले के गरिरहेको छ ?

मैले अघि पनि भनें, सुदूरपश्चिम उच्च जोखिममा छ । यसलाई कसरी नियन्त्रण गर्ने, कसरी अघि बढ्ने भन्ने बिषयमा तीनै तहका सरकार गम्भीर छन् । आइतबार संघीय मन्त्रिपरिषद बैठकले पनि महत्वपूर्ण निर्णय गरेको छ । यता सुदूरपश्चिम प्रदेशमा पनि मन्त्री, मुख्यमन्त्री लगायत सबै यसैमा गम्भीर हुनुहुन्छ ।

अब कोरोनाविरुद्धको अभियान सुदूरपश्चिम प्रदेशबाटै सुरु हुन्छ जस्तो लागेको छ र हुनुपनि पर्छ ।

कोरोना दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो चरण पनि धनगढीबाट सुरु भएको छ । यसमा आम नागरिकलाई के भन्नुहुन्छ ?

त्यो गौरीफन्टाको भीडमा कतिजना थिए, उनीहरु ठूलो जोखिममा छन् । उनीहरु सबैले आफ्नो स्थानीय तहमा जानकारी गराउनुपर्छ । अब स्वास्थ्यमा समस्या आउना साथ स्वास्थ्यकर्मीसँग समन्वय गरेर नमुना पठाउनुपर्छ ।

तर, स्थानीयमा संक्रमण जुन देखियो, यो दोस्रो चरणको हो । दोस्रो चरणमा स्थिति बढी भयाभह हुन सक्ने अनुमान हामीले गर्नुपर्छ । त्यसैले सुदूरपश्चिम प्रदेशमा थप जनशक्ति आवश्यक पर्न सक्छ । थप उपकरण आवश्यक पर्न सक्छ । यस विषयमा सबैले गम्भीर बन्नुपर्ने समय आएको छ ।

प्रदेशमा यस्तो अवस्था सिर्जना हुन सक्छ भनेर किन पूर्वानुमान भएन ?

हरेक सय बर्षको वीचमा मानव जातिमा ठूलो संकट आइपरेको छ । जब कोरोना डिसेम्बरको अन्तिम समयमा देखा पर्ने थाल्यो, हामी मात्रै होइन, संसार नै तयारी अवस्थामा रहेनछ भन्ने कुरा देखियो ।

अमेरिका, इटाली, फ्रान्सजस्ता देशमा पनि त्यस्तो भयावह अवस्था सिर्जना भएको छ । अहिले नेपालमा पनि पूर्वतयारी कमजोर रहेछ भन्ने देखाएको छ । सुदूरपश्चिम प्रदेशमा अझै समस्या छ । विमानबाट आएकाहरुको तथ्यांक राख्न सजिलो हुन्छ ।

तर, सुदूरपश्चिम प्रदेशमा अधिकांश नेपाल-भारत सीमा नाकाबाट आएका छन् । नाकाबाट आएकाहरुको कुनै तथ्यांक छैन । भारतमा संक्रमण देखिएपछि कति नेपाल आए भन्नेबारे एकिन तथ्यांक नहुँदा यसको जोखिम कस्तो हुन्छ भनेर हामीले अनुमान गर्ने बाहेक ठोस रुपले भन्न सकिने अवस्था छैन ।

हाम्रो भूगोल सानो छ । जनसंख्या पनि २९ लाख हाराहारी मात्रै छ । तर, भारतबाट ठूलो संख्यामा नेपाली आएका छन् । उनीहरुका कारण जोखिम बढेको छ ।

सुदूरपश्चिम प्रदेशमा अहिले जोखिमबाट जोगिन जो जहाँ हुनुहुन्छ, त्यही रहनुपर्छ । आफू मात्रै नभई आफ्नो परिवारका सदस्य र अन्य व्यक्तिलाई पनि कुनै समस्या देखिएमा नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहलाई जानकारी दिनुपर्छ ।

धेरै ठाउँमा क्वारेन्टाइन बनाइएको छ । तर, सबै ठाउँमा त्यसको मापदण्ड पनि पुरा भएको छैन । कतिपय स्थानमा त घरमा जान नदिएर विभिन्न विद्यालयहरुमा राखिएका छ । यसले झन् संक्रमण बढाउने जोखिम हुन्छ । अहिले सबैभन्दा राम्रो उपाय भनेकै होम क्वारेन्टाइन हो ।

एक महिनाको अवधिमा भारतबाट सुदूरपश्चिममा डेढ लाख नागरिक भित्रिएको बताइन्छ । उनीहरुमध्ये अधिकांश क्वारेन्टाइनमा छैनन् । यस विषयमा तपाईहरु किन गम्भीर नभएको ?

हामीलाई चिन्ता यही हो । यसले संक्रमण फैलन सक्ने अवस्था देखिएको छ । अहिले होम क्वारेन्टाइनमा रहेकाहरुको अवस्था बुझ्ने जिम्मा स्थानीय तहको छ । वडाअध्यक्षको नेतृत्वमा समिति गठन गरेर त्यसको तथ्यांक लिन नेपाल सरकारले निर्देशन दिइसकेको छ । स्थानीय तह बढी चनाखो हुनुपर्ने अवस्था छ ।

अहिले आवश्यक पर्ने सबै सामाग्री नभए पनि सुदुरपश्चिमका ९ वटै जिल्लाहरुमा सामान्य सबै सामग्री पुर्‍याएका छौँ । दुई दिनदेखि १४ दिनसम्म यसको लक्षण देखिन्छ भनिएको छ । तर, त्यसपछि पनि लक्षण नदेखिने भन्ने होइन । किनकि कुकुरले टोक्दा १४ दिनमा मात्रै रेभिज हुन्छ भन्ने थियो । अहिले त्यो फेल भएको अवस्था छ ।

त्यसैले, अहिले हामी सचेत हुनुको विकल्प छैन । जबसम्म कोरोनाको संक्रमण शून्यमा झार्न सकिँदैन, हामीले लापरवाही गर्न हुँदैन । सबैभन्दा बढी बिदेशबाट आएकाहरुबाट जोगिन आश्यक छ ।

नेपालमा भेटिएका ९ जना संक्रमितमध्ये ४ जना कैलाली/ कञ्चनपुरका हुन् । पहाडी सात जिल्लामा स्वास्थ्यको पहुँच नहुँदा यस प्रदेशका अरु संक्रमितहरुको पहिचान नभएको पो हो कि ?

त्यस्तो होइन । पहाडी जिल्लामा पनि शंका लागेकाहरुको नमुना पठाइएको छ । अहिलेसम्म सबैको जाँच हुन सकेको छैन । तर, अधिकांशको परीक्षण भइसकेको छ, तीमध्ये पहाडी जिल्लामा अहिलेसम्म नेगेटिभ देखिएको छ ।

भर्खरै प्रदेशका मुख्यमन्त्रीले पनि तपाईंरुसँग कोराना नियन्त्रण र रोकथामका विषयमा छलफल गर्नुभएको थियो । मुख्यमन्त्रीलाई के सुझाव दिनुभयो ?

सुदूरपश्चिम प्रदेशमा प्रयोगशालाको विस्तार गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । अहिले सेती प्रादेशिक अस्पतालमा एउटा मात्रै उपकरण आएको छ । यसले एकदिनमा १० जनाको मात्रै परीक्षण गर्न सक्छ । त्यसैले प्रादेशिक अस्पतालमा एउटा उपकरण थप्ने र जिल्लाहरुमा पनि प्रयोगशाला स्थापना गर्ने विषयमा कुराकानी भएको थियो ।

सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरसको र्‍यापिड टेष्ट गर्ने निर्णय हिजोमात्रै गरेको छ । त्यसले संक्रमण नियन्त्रण गर्ला जस्तो लाग्छ ?

ती किटहरु भर्खर नयाँ उत्पादन भएका हुन् । र्‍यापिड टेष्ट किटहरुबाट जाँच गरियो भने बढी भन्दा बढीको संक्रमण जाँच गर्न सकिन्छ । त्यसले संक्रमण नियन्त्रणमा ठूलो भूमिका खेल्छ जस्तो लाग्छ ।

सिंगै मुलुक डकडाउनमा छ । सहर सुनसान छ । तर, गाउँमा त्यसको प्रभाव न्यून छ । यस्तो अवस्थाको अन्त्य भएन भने के होला ? कुनै अनुमान गर्नुभएको छ ?

हामीले लापरबाही गर्‍यौँ भने त्यसपछिको अवस्थाबारे हामी कल्पना नै गर्न सक्दैनौँ । अहिले स्वास्थ्यले दिएका सन्देशहरु प्रत्येक नागरिकले पालना गर्न आवश्यक छ ।

नेपाल सरकारले ल्याएको लकडाउनको नियमलाई पनि सतप्रतिशत मान्छेहरुले पालन गर्नुपर्छ । विशेष परिस्थितिमा एम्बुलेन्स हिँड्लान्, स्वास्थ्यकर्मी हिँड्लान्, सुरक्षा निकाय हिँड्लान् अरु सबैले आफू बच्न र अरुलाई पनि बचाउन लकडाउनको सिद्धान्तभित्र बस्नै पर्छ ।

यदि त्यो गरिएन भने निकै समस्या आउन सक्छ । सहरमा सुरक्षाकर्मीको डरले पनि मान्छे बाहिर आइरहेका छैनन् । तर, गाउँ गाउँमा मान्छेहरु खुलेआम हिँडिरहेको सुन्न आइरहन्छ । यो ठूलो चुनौतिको विषय हो । यसलाई तत्काल रोक्न आवश्यक छ ।सरकारले भन्दै गर्छ, म त हिँडिरहन्छु भन्ने मान्छेका कारण त्यो समाजमा मात्र होइन, सिंगै राष्ट्रमा ठूलो संकटमा आउन सक्छ ।

अनलाइनखबरका लागि भानुभक्त आचार्यले लेखेको

 

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE