बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

भारतीय सीमा जोडिएका नाका बन्द

धनगढी, २९ चैत्र : सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्र शिल गरेको छ । सशस्त्र प्रहरी सिमा सुरक्षा बल कैलालीले भारतसंग सिमा जोडिएको कैलालीको १०१ किलोमिटर क्षेत्रलाई शिल गरेको हो । कोरोना भाईरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामका लागि भारतसँग सिमा जोडिएका क्षेत्रमा मानिसको आगमन रोक्न शिल गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

विश्वभर फैलिइरहेको (कोभिड-१९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बेला मानिस भारतबाट नेपाल भित्रिन सक्ने भन्दै सिमानाकालाई शिल गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर गणपति कमल तिमिल्सिनाले बताए । उनका अनुसार कैलालीको १०१ किलोमिटर लामो सिमानाकाका १९ स्थानमा सशस्त्र प्रहरीको अस्थायी जाँचचौकी र ७३ स्थानमा सेन्ट्री स्थापना गरी निगरानी बढाइएको छ ।

भारतसँग खुला सिमाना भएका कारण लकडाउनको समयमा कोही पनि नेपाल भित्रिन नदिन सशस्त्र प्रहरीले सिमानाकामा सुरक्षाका साथै निगरानी गर्दै आएको तिमिल्सिनाको भनाइ छ । यहाँका मुख्य त्रिनगर र खक्रौला नाका बन्द भएकाले लुकीछिपी अन्य खुला नाकाबाट आवतजावत हुन सक्ने भन्दै सीमानाका शिल गरेर सुरक्षा दिइरहेको उनले बताए ।

सशस्त्र प्रहरीले सीमित साधन स्रोतका बाबजुत सिमा क्षेत्रमा २४ सैँ घण्टा सर्वसाधारणको आवागमनमा पूर्णरुपमा रोक लगाएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशभर ४३ वटा सिमा सुरक्षा जाँचचौकी रहेका छन् । सशस्त्र प्रहरीले दक्षिण र पश्चिममा ५५० किलोमिटर सीमानाकामा सुरक्षा गर्दै आएको जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE