बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

कोरोना पुष्टी नभएपछि खादा ओढाएर घर फिर्ता

अमर सुनार दैलेख, २९ चैत्र : दुल्लू नगरपालिका–२ भानेश्वर मावि काफलपानी क्वारेण्टीनमा बसिरहेका २० जनालाई अबीर–टीका र खादा ओडाएर शुक्रवार घर फर्काइएको छ । कोरोना संक्रमण नभएको पुष्टी भएपछि त्यस्तो सम्मानका साथ पठाइएको हो ।

‘तपाईंहरुलाई कोरोना रहेछ भने गाउँभरी फैलिन सक्छ, परिवार र गाउँलाई जोखिममा नपार्नुस्’ भनेर वडाध्यक्ष लक्षिराम थापा र केही युवाहरुको त्रियाशीलताले सम्झाई बुझाई घरघरबाट चैत १२ गते ल्याइएको थियो ।

जिल्लाका ११ स्थानीय तहले ६७ स्थानमा निमार्ण गरेका क्वारेण्टीन मध्ये पहिलो पटक प्रयोगमा आएको क्वारेण्टीन नै भानेश्वर मावि काफलपानी क्वारेण्टीन थियो । यो क्वारेण्टीनमा भारतबाट आएका १६ र काठमाण्डौंबाट आएका ४ जना समेतलाई राखिएको थियो ।

कर्णाली प्रदेश प्रयोगशालामा पठाइएका स्वाव परीक्षणले कोरोना भाइरस संक्रमण नदेखिएको पुष्टी भएपछि क्वारेण्टीनमा राखिएको १७ औं दिन शुक्रवार औपचारिक सम्मानका साथ सबै जनालाई घर पठाइएको भानेश्वर मावि काफलपानीका विव्यस अध्यक्ष जीतेन्द्र थापाले जानकारी दिए ।

आफ्नो झोला, कपडा लगायतका पोका पञ्तुरा सहित क्वारेण्टीनबाट वाहिर निस्कँदा घर फर्किन लागेकाहरु घर जान पाएकोमा खुशी थिए नै त्यो भन्दा बढी निरोगोगिता पुष्टीले उनीहरुलाई उत्साह थपेको थियो ।

कोरोना नभएको चिठी समेत पाएकोले आफैलाई समेत निर्धक्क भएको दुल्लू नगरपालिका–२ नाउलीकी उमा थापाले बताउनुभयो । ‘सुरुमा काठमाण्डौंबाट आएकोलाई किन ल्याएको होला भनेर खिन्नता थियो, चिठीले ल्याएर ठीकै गरेछन् भन्ने लागेको छ’ उमाले टिप्पणी गरिन् ।

भारतको मुम्वईबाट घरमा पुगेको पछिल्लो दिन परिवार सहित क्वारेण्टीनमा आएका भद्रबहादुर थापाले भने ‘हाम्रै लागि राम्रो भयो, गाउँमा रोगी नै हो कि जस्तो गरेका थिए शुक्रवार छिमेकीले पनि हशिखुशीसंग बोले ।’

दुल्लू नगरपालिकाका उपमेयर बिष्णु थापा, वडा नं.२ का वडाध्यक्ष लक्षिराम थापा, दुल्लू इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक हिक्मत बोहोरा, इन्द्रदल गुल्म दुल्लू बेसक्याम्पका उपसेनानी सन्दीप थापा, नाउलेकटुवाल स्वास्थ्य चौकी इञ्चार्ज नबिन सुनारले टीका र खादा लगाइ दिएर विदा गरेका थिए ।

जिल्ला स्तरीय क्वारेण्टीन व्यवस्थापन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार दैलेखका ६७ स्थानमा निर्माण गरिएका क्वारेण्टीन मध्ये ३१ वटामा गरी ३ जना महिला समेत २ सय ४७ र आइसुलेसनमा ४ जना बसेका छन् ।

भानेश्वर मावि काफलपानी क्वारेण्टीनबाट आज फर्किएका २० बाहेक यस अघि महाबु गाउँपालिकाबाट २१, आठबीसबाट ४ जना घर फर्किएका छन् । क्वारेण्टीनहरुको स्वाव पठाइएका दैलेखका २५ जनामा कोरोना नदेखिएको र १४ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE