बुधबार, मंसिर १०, २०७७
Wednesday, November 25, 2020

रुकुम नरसंहार विरुद्ध नयाँ बानेश्‍वरमा सडक बहस

काठमाडौं, १२ असार : अन्तरजातीय प्रेम सम्बन्धका कारण नवराव विकसहित ६ जना युवकको ज्यान जाने गरी भएको पश्चिम रुकुम नरसंहार विरुद्ध शुक्रबार नयाँ बानेश्वरमा सडक बहस भएको छ । सडक बहस कार्यक्रममा विभिन्न दलका नेताहरुको सहभागिता रहेको थियो।

बहसमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले झण्डै ५० लाख जनसंख्या भएको दलित समुदायको हितका सामाजिक आन्दोलन नभएकै कारण घटना भएको बताए। जनजाति आन्दोलन, मधेश आन्दोलन भए पनि दलित आन्दोलन नभएकै कारण रुकुम घटनाको विषयमा आवाज उठ्न नसकेको उनको धारणा थियो।

जातीय विभेदका घटनाहरु बढिरहेको उल्लेख गर्दै उनले देशमा राजनीतिक आन्दोलन भए पनि सामाजिक आन्दोलन नभएको र सभ्य समाज निर्माण हुन नसकेको ठोकुवा गरे। जातीयताकै कारण बेला बेला हुने घटनाले देशलाई कलंकित बनाएको उनको भनाइ थियो।

नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले दलित उत्पीडनको एजेण्डा बढाएर आन्दोलन नहुँदासम्म विभेद अन्त्य गर्न नसकिने बताए। अब पनि सामाजिक आन्दोलनमार्फत दलित उत्पीडन मुद्दा स्थापित गराउन नसकिए घटनाहरु भइरहने बताए।

पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनाका अभियुक्तहरूलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। घटनामा संलग्न भएको आरोप लागेका वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रुकुमले बुधबार आदेश दिएको छ।

थाहाखबरबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE