सोमवार, मंसिर ८, २०७७
Monday, November 23, 2020

झुलाघाट नाका नखुल्दा पेन्सनधारीहरु समस्यामा

सीपी लोहिया, बैतडी २८ कार्तिक : कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले झुलाघाट नाका खोल्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भएपनि नाका खोल्ने सम्बन्धी अहिलेसम्म जिल्लामा कुनै परिपत्र प्राप्त भएको छैन् । झुलाघाट नाका खोल्ने बिषयमा अहिले सम्म जिल्ला प्रशासनमा कुनै परिपत्र प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।

आफूले पनि विभिन्न सञ्चार माध्यमबाट नाका खोल्ने बिषयमा कुराकानी सुनेको र यो बिषयमा परराष्ट्र मन्त्रालयमा समेत बुझ्दा अहिले सम्म कुनै पत्र नआएको उहाँले बताउनुभयो । झुलाघाट नाका खोल्ने बिषयमा सरकारले निर्णय गरेर पत्र पठाएमा मात्रै नाका खुल्ने प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो ।

कोरोना भाईरसको जोखिमका कारण गएको चैतदेखि झुलाघाट नाका बन्द छ । नाका बन्द हुँदा भारतीय पेन्सनधारी नेपाली नागरिकले पेन्सन पाएका छैनन् भने रोजगारीका लागि भारत जानेहरुले पनि यो नाका भएर जान पाएका छैनन् । लामो समयदेखि पेन्सन नपाउँदा पेन्सनधारी नागरिकले समस्या भएको बताउँदै आएका छन् ।

केही दिन अघि नाका खोल्नका लागि संकट व्यवस्थापन केन्द्रले सरकारलाई सिफारिस गर्ने निर्णय भएको समाचार बाहिर आएपछि स्थानीयहरु खुसी भएका थिए । तर अहिले सम्म नाका खोल्ने बिषयमा कुनै जानकारी नआउँदा पेन्सनधारीहरु निराश भएका छन् । झुलाघाट नाका खोल्नुपर्ने माग गर्दै भारतीय व्यापारीहरु समेत आन्दोलित भएका थिए । उनीहरुले पनि नाका खोल्न भारतीय सरकारलाई दबाब दिदै आएका छन् ।

रेडियोनेपालको अनलाइनबाट

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE